Monday, January 24, 2011

असमीया कविता

देवप्रसाद तालुकदार

घर

चिटिक्कै सिँगारिएको घर

जलेर खाक भएको थियो।

तपाईं भन्नुहुन्छ होला

"भाग्य राम्रो,

भित्र कोही थिएन रहेछन" भनेर।

तर, मैले भने तपाईंले सोचे झैं

सोच्नै सकेको छुइनँ

जेहोस,

हाम्रो घरको कति खति भयो

सुनिहाल्नोस

घरभित्रको त्यो चिनारु उज्यालो हराइपठाएँ

जुन उज्यालोमा नै

एकार्काका मुटु छाम्नसकेका थियौं।

घरको कुना-काप्चामा चुपचाप लुकिरहेका अँध्यारोहरूले

चोर्दै साँचेर राखेको थियो

अन्तरमा सिउरिराखेको प्रेम

एकार्काप्रतिका।

हाम्रो कानेखुसीको कुरा

भित्तामा ओहोर-दोहोर गरिरहने

माउसुलीले लुकेर सुनेको थियो

त्यो पनि त बाँच्न सकेन

भोलीको दिनको जोखाना फलाक्न।

ती झ्यालहरू, खाली भित्ताहरू

जहाँ अगणित अलिखित कुराहरु टाँसिएका थिए

घरका प्रत्येक वस्तुहरुमा जुन स्मृति सजीव भइरहेका थिए

जलेर सबै खरानी भए।

हराइगएका कति आफ्नाहरूका

पाइलाछापहरू

स्पर्शहरू हराइगए।

लौ भन्नुहोस तपाईं!

त्यसदिन घरमै

बसेको नै

उचित थिएन र?

No comments:

Post a Comment