Tuesday, January 25, 2011

असमीया कविता

ज्ञान पुजारी

आत्म-प्रतिकृति

के गर्दैछौ? के गर्दैछौ हिजआज

जुत्ता उसिनिरहेको छु भाइ।

सपना देख्ने गर्छौ? सपना

अँ! देख्ने गर्छु त।

कुखुरा भएको छु। कुखुरा भइरहेको छु।

अनि कुखुरे-युद्धमा लिप्त छु।

अँ! एक पाइलो दुइ पाइलो अर्थात कति पाइलो?

अँ! कलेजो पो

मेरो कलेजो उसिनें। सुकाएँ।

अनि घाममा सुकाएर आएको छु भाइ।

तिमी त मसानघाटको पोंड़े पो थियौ त? मसानघाटको

अँ भाइ,

दाउरामाथि दाउरा थप्दैछु

शवको पिठ्यूँमा शिशु।

सोमालिया हे सोमालिया।

साभार: आरोहण-५, नोभेम्बर २००६

असमीया कविता
ज्ञान पुजारी
कविता
अबउसो म निश्चिन्त भएर
अपहृत बन्दी हुनसक्नेछु
अनि हजार आलोकवर्षको निम्ति ढुङ्गा भइरहनेछु।

नदी सबैको टुङ्गो छ। नदी त कल्पचित्र नै हो
बर्खा त साउनको खेतमा टाँसिनेगर्छ
हिउँद सुकेर गए मेरो छातीभित्र पस्छ
कल्पचित्र नै हुन सबै।

सिटी बसमा चढ़्नै हुन्न, खलासी चिच्याइहाल्छ-
"दाज्यू, पछि सरिदिनोस, दाज्यू पछि सरिदिनोस।"
पछि सरिरहेको छु, अझै पछि सरिरहेको छु
फेरी कराउँछ- "दाज्यू निहुरिदिनुहोस, निहुरिदिनुहोस।"
निहुरिरहेको छु, निहुरिरहेको छु
झन बाउन्ने हुँदै गइहेको छु।

साथीहरूले भेट्नै हुन्न, सोधिहाल्छन-
"के गर्दैछौ हिजोआज, के गर्दैछौ?"
म भन्नेगर्छु- "अपहृत बन्दी भएको छु।"

गुवाहाटीमा जमीन छ? घर बनायौ? घर
घर

मेरो घर छँदैछ नि। गुफामा घर छ
गुफाको छानो छ। गुफाको आँगन छ।

साभार: आरोहण-४, जुलाई २००३

Monday, January 24, 2011

असमीया कविता

देवप्रसाद तालुकदार

प्रेम

एउटा बीज उम्रेको छ

प्रेम

श्वास-प्रश्वासले खनिदिएको

फराकिलो खेतमा।

राती सधैं

जूनको उज्यालो

पग्लिएर झर्नेगर्छ मेरो ओछ्यानभरि।

एकान्तमा

मलाई अँगालोमा बाँध्नेगर्छ।

अड़िएर पनि

गइरहन्छु म

तिमी नजिकिँदा।

गइरहेर पनि

अड़िरहन्छु म

तिमी टाड़िँदा।

असमीया कविता

देवप्रसाद तालुकदार

घर

चिटिक्कै सिँगारिएको घर

जलेर खाक भएको थियो।

तपाईं भन्नुहुन्छ होला

"भाग्य राम्रो,

भित्र कोही थिएन रहेछन" भनेर।

तर, मैले भने तपाईंले सोचे झैं

सोच्नै सकेको छुइनँ

जेहोस,

हाम्रो घरको कति खति भयो

सुनिहाल्नोस

घरभित्रको त्यो चिनारु उज्यालो हराइपठाएँ

जुन उज्यालोमा नै

एकार्काका मुटु छाम्नसकेका थियौं।

घरको कुना-काप्चामा चुपचाप लुकिरहेका अँध्यारोहरूले

चोर्दै साँचेर राखेको थियो

अन्तरमा सिउरिराखेको प्रेम

एकार्काप्रतिका।

हाम्रो कानेखुसीको कुरा

भित्तामा ओहोर-दोहोर गरिरहने

माउसुलीले लुकेर सुनेको थियो

त्यो पनि त बाँच्न सकेन

भोलीको दिनको जोखाना फलाक्न।

ती झ्यालहरू, खाली भित्ताहरू

जहाँ अगणित अलिखित कुराहरु टाँसिएका थिए

घरका प्रत्येक वस्तुहरुमा जुन स्मृति सजीव भइरहेका थिए

जलेर सबै खरानी भए।

हराइगएका कति आफ्नाहरूका

पाइलाछापहरू

स्पर्शहरू हराइगए।

लौ भन्नुहोस तपाईं!

त्यसदिन घरमै

बसेको नै

उचित थिएन र?

असमीया कविता

हीरेन्द्रनाथ दत्त

निशा-उत्सव

आकाशले धूलोको बर्को ओड़ेको छ,

घाम अस्ताउनै आँटेको बेलाको आकाश यो

सधैंभन्दा झन रातो भएको छ,

धूलोले गर्दा हामी एकार्कालाई नमान्ने भएका छौं

खिन्नताले पोलेझें धूलोको बर्कोले

हामीलाई चिलाइरहेको छ।

हामी सँगसँगै गइरहेका विगतका दिनहरूलाई

हामीले अहिले नदेखेझैं,

आगामी दिनहरुमा कस्तो रूप लिएर आउनेछन

सोच्न पनि डर लाग्दैछ।

धूलो उड़िरहेको छ उग्र रिसको, शङ्काको, आतङ्कको र

शायद पश्चातापको।

एकार्कालाई सम्झाउनुपर्दा पनि

शायद आ-आफ्ना भूलहरू

लुकाउनुपर्ने हुन्छ।

त्यसैले गर्दा हे अनुज, हे सहोदर, तिमीहरूले भनिदेऊ

हामी मात्र सुन्नेछौं, सुन्नेछौं अणि सुन्नेछौं

बन्दुकको आवाज ता सुनेका छौ

तर, तिमीहरूले हृदयको संवादलाई

त्यसले छोपेर राखेको छ;

आँधी-बेह्रीले पनि

उघार्न नसकेका पालुवाहरूलाई अघि लाएर

एक झर्को पानीको बाटो हेरिरहेको

तर टाड़ोबाट हेर्दा पातैबिनाको

त्यो रूखलाई हेर त,

रगतमा डुबेको साँझको आकाशले

बिदा लिइसकेपछि

ढोल-ताल, बिनायो-बाँसुरी बजाउँदै

निशा-उत्सव

हामी त्यही रूखको फेदमा मनाऊँ।

Thursday, January 20, 2011